संसारमा केही न केही दुःख जसलाई पनि छ, केही न केही पिडा जसलाई पनि छ, आफू वा आफन्तमध्ये कोही न कोही बिरामी छन् । आफूले बनाएका सबै योजनाहरू, सबै सपनाहरू पूरा भएका हुँदैनन् । कोही समाजमा विभिन्न कारणले पिडित भएका हुन्छन् । कोही समाजमा रहेका जाली फटाहाहरू एवं खराब काम गर्नेहरूलाई समाजले तिरस्कार गरेको पनि हुन्छ । यस्तै दुःखी, गरिब, निमुखा, सोझासाझा, तथाकथित दलितहरू तथा जाली फटाहाहरूलाई विभिन्न प्रलोभन देखाएर, आश्वासन दिएर अनि कसैलाई इमोसनल ब्याकमेलिङ गरेर क्रिश्चियन धर्मप्रति आकरि्षत गरिँदै छ । यसका लागि गाउँ गाउँ टोल टोलमा विभिन्न एजेन्टहरू परिचालन गरिएको छ । नेटवर्क बिजनेस जस्तो जसले धेरैलाई प्रलोभित गराउन सक्छ उसलाई विभिन्न प्याकेजहरू दिइन्छ । कसैलाई नगद दिने, कसैका छोराछोरीलाई निःशुल्क पढाइदिने, कसैलाई निःशुल्क उपचार गरिदिने वा उपचार खर्च दिने जस्ता प्याकेजहरू दिइन्छ । यस्ता प्याकेज पाएका एजेन्टहरूले पहिले कसलाई कुन समस्या परेको छ पत्ता लगाउँछन् त्यसपछि ती समस्या येशुको प्रार्थना गरेपछि सजिलै समाधान हुने, आफू वा आफन्त कोही बिरामी भए रोग पनि निको हुने, सम्पत्ती पनि बढ्ने, जागीर नहुनेले जागिर पाउने जसको लागि शुरुमा आफ्नो धर्म त्याग्नु पनि नपर्ने र एक दुइपटक चर्च वा सच्चाई केन्द्रमा गएर भजन गाउँदैमा केही फरक नपर्ने भन्दै फकाउँछन् । कतिलाई त क्रिश्चियन बनेर यसैमा लाग्दै गएमा गोराहरूले निःशुल्क यूरोप र अमेरिका लगिदिने भनेर पनि प्रलोभनमा पार्छन् ।
कुन धर्म अँगाल्ने भन्नेकुरा व्यक्तिको नितान्त निजि अधिकार हो । नेपालको संविधान २०७२ ले नेपालका प्रत्येक नागरीकलाई धार्मिक स्वतन्त्रताको मौलिक हक समेत प्रदान गरेको छ । तरपनि कसैले पनि आफ्नो धर्म प्रचार गर्ने बहानामा अर्काको धर्ममा आघात पुग्नेगरि अनेकथरी अफबाह फैलाउनुलाई भने सामान्य रुपमा लिन मिल्दैन । आफ्नो धर्म कुन कुन आधारमा ठिक छ भनेर प्रचार गर्नु र अर्काको धर्ममा भए नभएका नराम्रा कुरा औँल्याएर धर्म प्रचार गर्नु फरक कुरा हो । यस्तो लाग्छ, यसरी तिब्र रुपमा नेपालीहरूलाई क्रिश्चियन बनाउँदै लाने हो भने नेपाल केही समयपछि क्रिश्चियन राष्ट्र नहोला भन्न सकिन्न । नेपालको संविधान २०७२ को धारा ४ (१) मा "नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजबाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।" भनिएको छ । तर "यस धाराको प्रयोजनको लागि धर्मनिरेपक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धारि्मक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।" भनि संविधानमै स्पष्टीकरण दिइएको छ । नेपालको सनातन धर्म संस्कृति हिन्दू हो, सनातन धर्म संस्कृतिको संरक्षण गर्नु संविधानतः अधिकार हो र संविधानको धारा ४८ (ख) अनुसार संविधान र कानूनको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । त्यसैले होसियार हिन्दूहरू आफ्नो धर्म संकटमा परेको बेला हातमा दहि जमाएर बस्ने बेला हैन यो । आफ्नो गाउँ गाउँमा टोल टोलमा आफ्नो सनातन धर्मको धज्जी उडाएको टुलुटुलु हेरेर बस्ने कि त्यस विरुद्द केही गर्ने ?
तपाईलाई के लाग्छ ? आफ्ना विचारहरू तलको कमेन्ट बक्समा लेख्नुहोला ।
No comments:
Post a Comment