प्रस्तावित शिक्षा ऐनको मस्यौदामा भएका कतिपय बुँदाहरूका कारण यतिबेला देशैभरका शिक्षकहरू आन्दोलनमा छन् । हिजो साउन २८ गते शिक्षक महासंघको आयोजनामा देशैभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाउने कार्य भयो भने भोलि ३० गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिने कार्यक्रम रहेको छ । यसो हेर्दा यतिबेला सबै शिक्षकहरू एकताबद्ध भएर आन्दोलनमा निस्कने मनस्थितिमा देखिएपनि भित्री रुपमा शिक्षकहरू अझैपनि एकताबद्ध हुन सकेको देखिँदैन ।
अब फेरिपनि शिक्षक आन्दोलनमा संघका यति उपस्थित, संगठनका यति, युयनटोका यति, फलानोका यति, ढिस्कानोका यति, भनेर टाउका गन्ने, स्थायी यति, अस्थायी/करार यति, राहत यति, अनुदान यति, इसिडि यति आन्दोलनमा सहभागी भनेर वर्गीकरण गर्ने हो भने आन्दोलनको कुनै औचित्य छैन, चुपचाप कक्षाकोठामा पस्ने, तोकिएको पिरियड पढाउने बस्ने ।
नेपाल शिक्षक महासंघ सामू अहिले महत्त्वपूर्ण अवसर आएको छ । यसअघि पटक पटकका आन्दोलन सम्झौतामा लगेर टुंग्याएको कलंकको टीका यसपालिको निर्णायक आन्दोलनले मेटाउने कि फेरि अर्को टीका थप्ने अब महासंघको हातमा छ । "नेतृत्वले खुट्टा नकमाओस्, खबरदार!" भनेर आन्दोलनको लागि तम्तयार भएर बसेका शिक्षकको मनोभावना माथि कुठाराघात गरेर अमुक पार्टीको हनुमान बन्ने हो भने शिक्षकका नाममा राजनीति गर्न छोडिदिए हुन्छ, हैन भने अलि हेर्नहुने र देखाउन हुने माग लिएर नेतृत्व अगाडी बढोस्, शिक्षकको साथ नपाउने प्रश्नै आउँदैन ।
शिक्षक कुनैपनि हालतमा बिभाजित हुनु हुँदैन, जुनसुकै मितिमा नियुक्त भएपनि, जुन तहमा भएपनि, जुन श्रेणीमा भएपनि, जुन विषयको भएपनि, जुन कोटाको भएपनि, जेसुकैमा आस्था राख्ने भएपनि... शिक्षक सबै एकै हुन् भन्ने भावना नभएसम्म न आन्दोलन सफल हुन्छ, न शिक्षक एकता कायम हुन्छ ।
शिक्षकका नेताहरू! आफैंमा लघुताभाष छ, हिनताबोध छ? माग राख्दापनि समान तहका कर्मचारी सरह हुनुपर्छ... भनेर माग राख्छौँ हामी! यो पनि कुनै माग हो? "समान तहका कर्मचारीको भन्दा तलब, भत्ता, आवास, इन्धन, भ्रमण, उपचार सबैमा कम्तिमा 20 प्रतिशत बढि सुविधा शिक्षकलाई चाहिन्छ, हरेक चार वा पाँच वर्षमा आवधिक बढुवा हुनुपर्छ, घरपायक नभएको खन्डमा अपायक भत्ताको व्यवस्था वा आवास र यातायात खर्चको व्यवस्था हुनुपर्छ, शिक्षकले चाहेको खन्डमा जुनसुकै बेला जहाँसुकै स्थानमा सरुवा हुन पाउनुपर्छ, निश्चित अवघि करार, अनुदान, राहत, इसिडि जस्ता कोटामा आफ्नो उर्जाशील समय बिताएका शिक्षक स्वत: स्थायी हुनुपर्छ !" यस्ता माग हामी किन नराख्ने? अर्को पटक देखि आन्दोलन हामीले हैन अरु कर्मचारीले गर्नुपरोस्! अनि उनिहरूको माग होस् कि, "हामीलाई पनि समान तह र श्रेणीका शिक्षक सरह सुविधा चाहियो!" बेकार, लोकसेवा लडिएछ, प्रावि शिक्षकमा मात्रै घुस्न पाएको भए अहिले कत्रो इज्जत हुनेरहेछ भनेर पछुतो उनिहरूलाई परोस् ।
No comments:
Post a Comment